वैदेशिक सहायता भनेको के हो ?

वैदेशिक सहायता भनेको के हो ?

प्रश्न : वैदेशिक सहायता भनेको के हो ? वैदेशिक सहायताको सकारात्मक पक्ष उल्लेख गर्दै वैदेशिक सहायताको प्रभावको छोटकरीमा चर्चा गर्नुहोस् । २+४+४ = १०

 वैदेशिक सहायता
साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता हुन् । अर्थतन्त्र र समाजमा रहने ग्याप र आवश्यकता पूर्ति गर्न वैदेशिक सहायता महत्वपूर्ण मानिन्छ । नेपालले वैदेशिक सहायताको ६० वर्षे अनुभव बटुलिसकेको सन्दर्भमा यसको उपादेयता र प्रभावकारिता एक महत्वपूर्ण विकास मुद्दा बनेको छ । 

वैदेशिक सहायताको सकारात्मक पक्ष
वैदेशिक सहायताग्राही मुलुकको आवश्यकता र बाध्यता भएजस्तै दाता मुलुकको पनि अन्तरनिहीत चासो वा मोटिभबाट निर्देशित रहेको हुन्छ । विदेशी सहयोगलाई आर्थिक वृद्धि तथा उत्पादकत्व सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्दा अर्थतन्त्रको स्वचालित उत्पादनशीलता बढ्न गई पुँजी निर्माणको क्रम सुरु हुन्छ । यसले अतिरिक्त उपयोगिता सिर्जना गर्नुका साथै रोजगारीका अवसर वृद्धि गरी उपभोग एवं बचतजस्ता क्षेत्रमा सामथ्र्य र तत्परता बढाई लगानी, थप पुँजी निर्माणजस्ता आर्थिक उपलब्धि अर्थतन्त्रमा भित्रिने र अर्थतन्त्रमा मल्टिप्लाएर असर देखिने मान्यता रहेको पाइन्छ । नेपालको समेत सन्दर्भमा वैदेशिक सहायताले अर्थतन्त्र र समग्र विकासमा निम्नबमोजिमको सकारात्मक प्रभाव पारेको पाइन्छ । 

    विकासका निम्ति थप वित्तीय साधन परिचालन,
    प्राथमिकताप्राप्त क्षेत्रमा साधन प्रवाहित गरी आर्थिक वृद्धिदर सुधार, 
    वैदेशिक लगानी आकर्षण गर्न अनुकूल वातावरण निर्माण,
    उपलब्ध साधनको उपयोगमा क्षमता वृद्धि,
    प्रविधि हस्तान्तरणमा सहयोग,
    समष्टीगत आर्थिक नीति सुधारमा सहयोग,
    संरचनागत सुधारका लागि मार्गनिर्देशन,
    अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन,
    विकास नीति र मोडलहरूको प्राप्ति,
    जनशक्ति क्षमता विकास,
    प्राकृतिक स्रोत–साधनको उपयोग,
    पूर्वाधार विकास,
    सामाजिक न्याय र समानता स्थापना गर्नमा योगदान,
    शासकीय सुधारका लागि विज्ञता र परामर्श,
    अन्तर्राष्ट्रिय पहिचान, बहुपक्षीय सहयोग र साझेदारीमा अभिवृद्धि ।
वैदेशिक सहायताको प्रभाव
कूटनीतिक वा राजनीतिक विकासमूलक मानवीय र व्यापारिक अभीष्टबाट निर्देशित हुने भए तापनि वैदेशिक सहायताको अवधारणा विकास सहायता प्रदान गरी गरिबी न्यूनीकरणमा योगदान गर्ने भनी विकसित भएको पाइन्छ । मास्टर प्लानदेखि सहायता प्रभावकारिता र पारदर्शिताको अवधारणासम्म आइपुग्दा संसारका सहायताग्राही देशहरूमा यसको प्रभाव मिश्रित रहेको छ । 

वैदेशिक सहायताको उच्चतम उपयोग गर्ने कतिपय मुलुकहरू दक्षिण कोरियालगायतका पूर्वी एसियाली मुलुक र अफ्रिकाका केही देशहरूमा वैदेशिक सहायताको सकारात्मक र अपेक्षित प्रभाव परेको पाइन्छ । तर, दक्षिण एसियाली र बहुसंख्यक अफ्रिकी मुलुकहरूमा वैदेशिक सहायताको प्रभावकारिता एक जटिल मुद्दाका रूपमा रहेको छ । दिगो र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसक्नु, मुलुकको आवश्यकता र प्राथमिकतामा सहायता परिचालन हुन नसक्नु, विकास क्षमता अभिवृद्धि हुन नसक्नुजस्ता नकारात्मक असरहरू परेको आममान्यता रहिआएको छ । नेपालको वर्तमान अवस्थामा वैदेशिक सहायता बाध्यताका रूपमा रहिरहेको छ । करिब एकचौथाइ राष्ट्रिय बजेटको हिस्सा ओगट्ने वैदेशिक सहायताको प्रभावकारितामा मुलुकको आर्थिक, सामाजिक विकासको नतिजा निहित रहनु स्वाभाविक नै हो ।

सकारात्मक पक्षहरूका बाबजुद नेपालको आर्थिक, सामाजिक विकासका सूचकमा उल्लेख्य सुधार भएको भने पाइँदैन । वैदेशिक सहायताको ठूलो हिस्सा अझै पनि गैरबजेटरी रहनु र पेरिस सिद्धान्तका मान्यताहरू आत्मसात् गर्न नसकिनु समस्याका रूपमा रहेको छ । प्राविधिक सहयोग र खरिद क्रेडिट दाता मुलुकमा नै फर्किने अवस्था विद्यमान नै छ । ४० भन्दा बढी दातृ निकाय र ठूलो संख्यामा रहेका सहायताका क्षेत्रहरूका कारण सहायता विशिष्टीकरण र नतिजामुखी हुन सकेको छैन । 

शासकीय क्षमताको विकास गरी संस्थागत सक्षमता अभिवृद्धि हुन नसक्दा विकास सहायताको उपयोग र विकासको सम्भावनाको भरपूर उपयोग गर्न सकिएको छैन । राजनीतिक तहमा बुझाइमा एकरूपता, स्पष्ट, दिगो र आमराष्ट्रिय सहमतिको विकास मोडल अभ्यास गर्न नसक्दा विकास सहायता दाताको चासो सिद्ध गर्ने एक किसिमको नवउदार आर्थिक उपनिवेशको दुष्चक्रमा पर्न सक्ने देखिन्छ । यसो हुन नदिन विकास सहायताको सकारात्मक पक्षको अधिकतम अभ्यास र उपयोग गरी विकासको नतिजा हासिल गर्नुपर्छ ।
Nayapatrikadaily