लोकसेवा प्रश्न : विज्ञको जवाफ

लोकसेवा प्रश्न : विज्ञको जवाफ

प्रश्नः नेपालमा वातावरण र विकासबीचको अन्तरसम्बन्धमा देखिएका समस्याहरू उल्लेख गर्नुहोस् ? (५)

विकासका लागि उचित वातावरण
ब्रह्माण्डमा रहेका प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तरसम्बन्धलाई वातावरण भनिन्छ । वातावरणमा रहेका तत्वहरूको सन्तुलनमा ह्रास नपुर्‍याई विकासका क्रियाकलापलाई अगाडि बढाउनु नै वातावरणीय विकास हो । वातावरण र विकासबीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भने एकविना अर्कोको विकास सम्भव हुँदैन । यसको पछिल्लो अवधारणा सन् १९९२ को रियो सम्मेलनपछि आएको हो । 

नेपालमा वातावरण र विकासबीचको अन्तरसम्बन्धमा देखिएका समस्या :

  •     वातावरणसम्बन्धी ऐन–नियमको प्रभावकारी कार्यान्वयन नहुनु,
  •     वातावरण र विकासबीचको सन्तुलनमा हानि नपुग्ने गरी पर्याप्त कानुनी व्यवस्था तथा मापदण्ड कायम गर्न नसक्नु,
  •     विकास र वातावरणबीच तालमेल कायम गर्न नसक्नु,
  •     विकास, योजना, बजेट र कार्यक्रमहरूबीच समन्वयको अभाव हुनु,
  •     वातावरण संरक्षणका लागि क्रियाशील र जिम्मेवार निकायबीच समन्वयको अभाव रहनु,
  •     वातावरणीय शिक्षाका साथै नागरिक शिक्षा र सचेतनामा कमी हुनु,
  •     अन्तर्राष्ट्रिय सन्धि–सम्झौतामा गरिएका प्रतिबद्धताको राष्ट्रियस्तरमा कार्यान्वयन नहुनु,
  •     दिगो विकासका सिद्धान्त र लक्ष्यहरू बढी सैद्धान्तिक हुनु,
  •     वातावरणीय मूल्यांकन प्रतिवेदन लागू नहुनु,
  •     आयोजनको वातावरणीय मूल्यांकन पक्ष फितलो हुनु, 
  •     विकासको आकांक्षा बढ्नु, वातावरणीय विषयमा चासो नपुग्नु ।

अन्त्यमा
वातावरण र विकास दुवै दिगो विकासका आधार भएकाले एकविना अर्कोको विकास सम्भव नहुने तथ्यलाई मध्यनजर गरी विकास प्रक्रियालाई अघि बढाउनु आजको  आवश्यकता हो ।