मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा, विष्णुहरि रेग्मी अधिकृत

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा, विष्णुहरि रेग्मी अधिकृत

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा स्पष्ट पार्दै नेपालको सार्वजनिक प्रशासनमा यसको अवलम्बनले पार्न सक्ने सकारात्मक प्रभावको चर्चा गर्नुहोस् । 

मानव संसाधन व्यवस्थापनको अर्थ र अवधारणा
  • व्यवस्थापनको मानव सम्पर्क सिद्धान्त वा व्यवहारवादी मान्यताको विकास भएसँगै पुरानो कर्मचारी प्रशासनको मान्यतामा परिवर्तन आई मानव स्रोत व्यवस्थापनको अवधारणाको विकास भएको हो । यस अवधारणामा कर्मचारीलाई वस्तु वा साधनको रूपमा नहेरी मानवीय भावना, संवेदना, उत्प्रेरणालगायत विषयमा विशेष जोड दिइन्छ । यस अवधारणालाई जनशक्ति व्यवस्थापन वा मानव संसाधन व्यवस्थापनसमेत भनिन्छ ।
  • मानव संसाधन व्यवस्थापन वा मानव स्रोत व्यवस्थापन भनेको संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि मानवीय क्षमताको उच्चतम उपयोग गर्ने कार्य हो । संगठनमा आवश्यक कर्मचारीको भर्नापूर्वदेखि अवकासपश्चात सम्मका नीतिगत, संरचानगत र कार्यक्रमगत व्यवस्थापन नै जनशक्ति व्यवस्थापन हो ।
  • मानव संसाधन राष्ट्रको सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव स्रोतको सक्षमताबाट मात्र भौतिक, वित्तीय, प्राविधिक तथा सूचना स्रोतको प्रभावकारी रूपमा परिचालन गर्न सकिने भएकाले यो महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्र हो । जनशक्ति परिचालनलाई सफल बनाउन व्यवस्थापकीय सीप तथा शैलीको प्रयोग गर्ने कार्य पनि हो यो ।
  • सार्वजनिक संगठनमा मानव स्रोत व्यवस्थापन भन्नाले संगठनमा जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गरी संगठन र कर्मचारी दुवैको आवश्यकता एवं उद्देश्य पूरा गर्नु हो । मानव स्रोत व्यवस्थापनले प्राप्तिभन्दा अगाडि र अवकाशभन्दा पछाडिको अवस्थालाई समेत समेट्ने भएकाले संगठनमा Pre Recruitment to Post Retirement Management का रूपमा यसलाई लिइन्छ ।
  • मानव स्रोत व्यवस्थापनमा संगठन र यसमा कार्यरत जनशक्तिको उत्पादकत्व वृद्धिका लागि संगठनमा मानव तत्वलाई महत्व दिइन्छ । अर्थात् कुनै पनि संगठनको वास्तविक शक्ति भनेको त्यहाँ कार्यरत जनशक्ति हो भन्ने मान्यता रहेको छ । संगठनको मुटुका रूपमा जनशक्तिलाई स्वीकार गरिएको छ ।
  • मानव स्रोत व्यवस्थापनको अवधारणाले संगठन र कर्मचारी दुवै पक्षलाई उत्तिकै महत्व दिएको हुन्छ । कर्मचारीलाई मानव पुँजीका रूपमा ग्रहण गर्ने र उनीहरूको क्षमताको विकास, उपयोग एवं संरक्षणले मात्र संगठन र व्यक्ति दुवैको आवश्यकता पूरा हुन सक्छ भन्ने मान्यता यस अवधारणाले राख्छ । वास्तवमा मानवलाई खुसी बनाएर काममा लगाउने र तिनको संगठनको लक्ष्य प्राप्तिमा भरपूर उपयोग गर्ने कला नै जनशक्ति व्यवस्थापन हो ।
  • संगठनलाई आवश्यक पर्ने जनशक्तिको पहिचान, माग, भर्ना, छनोट, नियुक्ति, पदस्थापना, विकास, उपयोग, संहार तथा अवकाशसम्बन्धी समग्र कार्यको उपयुक्त रूपमा सञ्चालन गर्ने वा मिलाउने कार्यप्रणाली नै जनशक्ति व्यवस्थापन हो ।
  • कर्मचारीमा प्रचुर क्षमता एवं सम्भावना रहेका हुन्छन्, यसलाई पहिचान र विकास गरी संगठन र व्यक्ति दुवैको हितमा उपयोग गर्नु नै मानव स्रोत व्यवस्थापनको उद्देश्य हो ।
  • डेकेन्जो र रविन्सका अनुसार मानव संसाधनको प्राप्ति, विकास, उत्प्रेरणा र सम्भार (Maintenance) प्रक्रिया नै मानव संसाधन व्यवस्थापन हो ।
  • मानव संसाधन व्यवस्थापन निरन्तर चलिरहने प्रक्रिया हो । यो सबै तहका व्यवस्थापकले गर्नुपर्ने नियमित कार्य हो । यसले संगठनको उद्देश्य प्राप्त गर्न सघाउँछ । यो एउटा व्यवस्थित दीर्घकालीन रणनीतिक योजना हो ।
  • वेन्डेल फ्रेन्चका अनुसार मानिसको व्यवस्थापनसम्बन्धी दर्शन, नीति, कार्यविधि एवं अभ्याससम्बन्धी कार्यको समष्टिगत स्वरूप मानव संसाधन व्यवस्थापन हो ।
नेपालको सार्वजनिक प्रशासनमा मानव संसाधन व्यवस्थापनको अवलम्बनले पार्ने सकारात्मक प्रभाव :
नेपालका तीनै तहका सरकारी तहका तर्फबाट देश र जनताका लागि वस्तु, सेवा एवं शासकीय मूल्यको प्रवाह गर्ने स्थायी, अविछिन्न उत्तराधिकार प्राप्त, वैधानिक एवं सार्वजनिक संयन्त्रलाई सार्वजनिक प्रशासन भनिन्छ । नेपालको सार्वजनिक प्रशासनमा कर्मचारी प्रशासनको परम्परागत मान्यताको स्थानमा मानव स्रोत व्यवस्थापनका नवीन एवं आधुनिक मान्यता र शैलीको अवलम्बन गर्दा पर्न सक्ने केही प्रमुख सकारात्मक प्रभाव तल दिइएको छ :
  • सबैभन्दा दक्ष, योग्य, प्रतिस्पर्धी र जागरुक जनशक्तिको प्राप्ति हुन्छ ।
  • उपयुक्त कार्य वातावरण निर्माण गर्छ ।
  • कर्मचारीको ज्ञान सीप र क्षमता प्रस्फुटन गराउँछ ।
  • लक्ष्य, उद्देश्य प्राप्तिलाई मितव्ययी बनाउँछ ।
  • उत्प्रेरित र उत्साहित जनशक्तिको विकास हुन्छ ।
  • सम्भावित जोखिमको पूर्वआँकलन गर्छ ।
  • संगठन र कर्मचारी दुवैको उद्देश्य पूरा गर्छ ।
  • कार्य गुणस्तर अभिवृद्धि गर्छ ।
  • सामाजिक एवं पर्यावरणीय अन्तरसम्बन्ध कायम गर्छ ।
  • संगठनको प्रतिष्ठा बढाउँछ ।
  • व्यावसायिक विकासको अवसर दिन्छ ।
  • समूह भावना र समूह कार्यको विकास गर्छ ।
  • उचित श्रमसम्बन्ध कायम गर्छ ।
  • सांगठनिक द्वन्द्व न्यूनीकरण गर्छ ।
  • योग्यता, क्षमताको कदर हुनुका साथै अल्छीपना, अनैतिक कार्य निरुत्साहन हुन्छ ।
  • राजनीतिक र प्रशासनिक आरोप–प्रत्यारोपलाई न्यूनीकरण गर्छ ।
  • संगठनलाई विस्तार गरी दिगो बनाउँछ । आदि ।

निष्कर्ष
कुनै पनि प्रणालीको अवलम्बन गर्दा मात्रै सबै समस्या समाधान भई चाहेको कुरा प्राप्त हुन्छ भन्ने हुँदैन । तथापि असल बाटो हिँडेपछि गलत ठाउँमा पुगिँदैन । यसर्थ मानव स्रोत व्यवस्थापनको मान्यता अवलम्बन गरेपछि जनशक्तिको सम्मान, उचित भुक्तानी, उत्प्रेरणालगायत कार्यबाट संगठनको उत्पादन र उत्पादकत्व दुवै अभिवृद्धि भई सरकारी लक्ष्य, उद्देश्य प्राप्ति सरल, मितव्ययी र प्रभावकारी बन्न जानेमा कुनै सन्देह छैन ।