लोकसेवा मोडलका प्रश्न र समाधान (नारायणप्रसाद दुवाडी,  सहसचिव)

लोकसेवा मोडलका प्रश्न र समाधान (नारायणप्रसाद दुवाडी, सहसचिव)

Qn. संगठित अपराधको संक्षिप्त परिचयसहित यसका  विशेषता र न्यूनीकरणका उपाय बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् । २+३+५=१०
Answer. संगठित अपराध
अन्तरदेशीय संगठित अपराधसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका अनुसार तीन वा तीनभन्दा बढी व्यक्तिको संरचनागत समूहबाट आर्थिक वा अन्य कुनै लाभका लागि एक वा एकभन्दा बढी गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेको आपराधिक समूहद्वारा हुने अपराधलाई संगठित अपराध भनी परिभाषित गरिएको पाइन्छ । संगठित अपराध निवारण ऐन २०७० ले तीनजना वा सोभन्दा बढी मिलेर गरेको देहायको कसुरलाई संगठित अपराध मानेको छ :

     प्रचलित कानुनबमोजिम तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुर,
     प्रचलित कानुनबमोजिम भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरण वा आतंककारी क्रियाकलापमा वित्तीय लगानी मानिने कसुर,
     आपराधिक समूहको स्थापना,
     न्यायिक कारबाहीमा अवरोध,
     विध्वंसात्मक कार्य,
     आपराधिक लाभ लिने कार्य ।
भ्रष्टाचार, राज्यविरुद्धको अपराध, श्वेत अपराध, मानव बेचबिखन अपराध, लागुऔषध अपराध र मुद्रा निर्मलीकरण, आतंकवाद, शरीर बन्धक र अपहरण, साइबर अपराध, हातहतियारसम्बन्धी अपराध संगठित अपराधअन्तर्गत पर्ने प्रमुख अपराध हुन् ।
संगठित अपराधका विशेषता
संगठित अपराधको प्रकृति हेरेर संगठित अपराधमा निम्न विशेषता पाइने गरेको छ :

     औपचारिक संगठनमा जस्तै संस्थागत निरन्तरता,
     तहगत संगठनात्मक संरचना र तह श्रेणीको व्यवस्था, गोप्य र सीमित सदस्यता,
     आर्थिक वा अन्य भौतिक उपलब्धि वा मुनाफा प्राप्त गर्ने आपराधिक क्रियाकलाप,
     हिंसा, दंगा, धाकधम्की, आक्रमण अभिन्न अंगका रूपमा रहने,
     भ्रष्टाचार वा अनैतिकताबाट शक्ति हासिल गर्ने र नाफा कमाउने,
     भ्रष्ट सरकारी अधिकारी वा पदीय तथा अन्य हैसियतको आधारमा संरक्षकत्व,
     भ्रष्ट अधिकारीसँग सम्पर्क बढाउने, सञ्जाल बनाउने र उनीहरूको संरक्षकत्व हासिल गर्ने,
     दक्ष व्यक्ति, अपहरणकर्ता, गोली हान्न निपूर्ण व्यक्तिको प्रयोग,
     राष्ट्रिय वा अन्तर्राष्ट्रिय संगठनसँग समन्वय, सम्बन्ध र सञ्जाल,
     सार्वजनिक पद धारण गरेका व्यक्ति, राजनीतिक नेता, समाजसेवीमार्फत सहयोग र संरक्षण ।
नेपालमा संगठित अपराधको दर बढ्दो क्रममा रहेको पाइन्छ । जघन्य अपराधका घटनाका कारण अपराध नियन्त्रण अनुसन्धान र अभियोजन कार्यमा ठूलो स्रोत–साधन खर्चनुपर्ने अवस्था विद्यमान छ । अन्य अपराधजस्तै यस प्रकृतिको अपराध बहुआयामिक हुने गर्छ । कानुन कार्यान्वयन क्षमता र समग्र शासकीय पक्षमा रहने कमजोरीका कारण अपराध न्यूनीकरण सदैव चुनौतीपूर्ण हुने गर्छ । संगठित अपराध न्यूनीकरणका लागि निम्नअनुसारका उपायको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक हुन्छ ।

संगठित अपराध न्यूनीकरणका उपाय
१.     राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाअनुसारको नीति र संरचना तयार गर्ने,
२.     सामाजिक अपराध न्यूनीकरण गरी शान्ति र अमनचैनको वातावरण विश्वसनीय बनाउने,
३.     कूटनीतिक प्रभावकारिता अभिवृद्धि गर्ने,
४.     सुरक्षा सूचना प्रणालीलाई सुदृढ गरी अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी अभिवृद्धि गर्ने,
५.     अपराध न्यूनीकरणको प्रणालीगत सुधार गर्ने,
६.     पर्याप्त स्रोत–साधनको व्यवस्था गर्नुपर्ने,
७.     अनुसन्धान र अभियोजनमा संलग्न जनशक्तिको     क्षमता विकास गर्ने,
८.     अपराध अनुसन्धानमा आधुनिक प्रविधि र    विधिहरूको उपयोग गर्ने,
९.     सरोकारवाला निकायबीच प्रभावकारी समन्वय    स्थापित गर्ने ।

समाजमा रहने विविधता र मानव व्यवहार अपराधका स्रोत हुन् । अर्थात् अपराधको कारक विभिन्न आर्थिक, सामाजिक, मानसिक र वातावरणीय तत्वहरु  रहेका हुन्छन् । विश्वव्यापीकरण र खुला समाजमा शक्ति र स्रोत तथा साधनको बढ्दो भोकका कारण संगठित अपराध अन्तरदेशीयसमेत बन्न पुगेका छन् ।

समग्र शासकीय गुणस्तर, सेवा–प्रवाह पूर्वाधारको विकास, सूचना प्रविधिको विकास एवं समुन्नत जीवनशैली स्थापित गर्न एकातिर संगठित अपराधले नकारात्मक प्रभाव पारेका छन् भने अर्कोतर्फ यस्ता विकासका बाइप्रोडक्टका रूपमा संगठित अपराधले स्थान पनि पाउने गरेको छ । 

रोकथाममूलक कार्यक्रम, सफल अनुसन्धान र अभियोजन र सोका लागि प्रभावकारी राष्ट्रिय र अन्तरदेशीय गुप्तचरी क्षमताको सुदृढीकरण एवं समन्वित प्रयासका माध्यमबाट अपराध नियन्त्रणको प्रणाली समग्र सुधारमार्फत संगठित अपराध न्यूनीकरण गर्न सकिन्छ ।