परिश्रमको परिणाम

परिश्रमको परिणाम

अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । भीषण गरिबीकै कारण उसको शरीरमा हत्तपत्त नयाँ र राम्रा लुगा पर्दैनथे । केटाको परिवारले उसको स्कुलको शुल्क तिर्नसमेत सक्दैनथ्यो । उनीहरूसित बस्नका लागि राम्रो घर पनि थिएन । यस्तोमा उसले ठीकस“ग शिक्षा प्राप्त गर्न सकिरहेको थिएन । यसैकारण ऊ उदास रहन थाल्यो ।

एक दिन ऊ सडकको किनारमा उदास भएर सोचिरहेको थियो । त्यति नै खेर एउटा मानिस टाउकामा धेरै सामान राखेर हिँडिरहेको उसले देख्यो । ऊ सोही मानिसलाई हेर्दै थियो । त्यति नै खेर त्यो मानिस कतै ठोक्किएर लड्यो । यो देख्नासाथ त्यो केटो उसको छेउमा गयो र उसलाई सहारा दिएर उठाइदियो । त्यो मानिसले उसलाई आफ्ना केही सामान बोकेर स्टेसनसम्म पु-याइदिन आग्रह ग-यो । त्यस केटाले पनि केही नबोली सामान बोकेर खुरुक्क रेलवे स्टेसनसम्म पु-याइदियो ।

केटाको सहयोगका लागि त्यस व्यक्तिले उसलाई पुरस्कारका रूपमा केही पैसा दियो । त्यो पैसाले उसले किताब किन्यो । त्यसपछि ऊ सधैँ स्टेसन आउन–जान थाल्योे र मानिसको सहायता गरेर पैैसा कमाउन थाल्यो । यसरी उसले अत्यन्त कडा मिहिनेत गरी पढाइ पूरा ग-यो । ऊ कानुन व्यवसायी बन्न चाहन्थ्यो । आखिर आफ्नो मिहिनेतको बलमा ऊ साँच्चै कानुन व्यवसायी बन्न सफल भयो । यही केटो एक दिन अमेरिकाको सोह्रौँ राष्ट्रपति बन्नसमेत सफल भयो । जसको नाम थियो, अब्राहम लिंकन ।